एसओएस गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस
पाेखरा | भदौ २९, २०८१
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ ।
‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो ।
गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस बाल क्लबका अध्यक्ष अश्विन चिलवालले गरेका थिए ।
बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।
एसओएस गण्डकीले यस वर्ष हासिल गरेको उत्कृष्ट नतिजाका बारेमा सम्क्षिप्त प्रकाश पार्दै विद्यालयले प्राप्त गरेको यो उचाइलाई कायम राख्न आगामी दिनमा विद्यालय थप उत्साहका साथ लाग्ने पनि प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।
प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो । कक्षा नर्सरीदेखि दुईसम्म अप्रतियोगितात्मक तथा कक्षा तीनदेखि माथि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।
कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले स्वस्तिवाचन पनि गरेका थिए । त्यसै गरी कार्यक्रममा अर्णव सापकोटाले शास्त्रीय शैलीको ताण्डव नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याइदिए भने कक्षा ५ का विद्यार्थीहरूले ‘ऐँचोपैँचो’ र ‘लागुपदार्थ दुव्र्यसनी’ शीर्षकका दुई नाटक प्रस्तुत गरी दर्शकको मन खिचे ।
प्रतियोगितात्मक कार्यक्रममा कक्षा ५ का प्रज्ञान बरालले प्रथम, कक्षा ४ की एन्नी शाहीले द्वितीय, अनमोलरत्न मगरले तृतीय तथा अञ्जु चेपाङले सान्त्वना स्थान हासिल गरेका थिए ।
विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि टकराज गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताए ।
आजभोलि बालबालिकाहरूमा सानैदेखि विदेश जानुपर्छ भन्ने चिन्तनको विकास हुनु दुःखद भएको बताउँदै मन्त्री गुरुङले यो देशको भविष्य उज्ज्वल पार्न सबै मिली बालबालिकामा त्यो चिन्तन हटाउनेतर्फ सोच्नुपर्ने बताए ।
अनाथ, असहायदेखि समाजका अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको एसओएस गण्डकीलाई आगामी दिनमा प्रदेश सरकारले उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि मन्त्री गुरुङले व्यक्त गरे ।
कक्षा ९ का छात्राद्वय स्मारिका न्यौपाने र नेरिन बराल तथा कक्षा ११ का छात्राद्वय सजनी लामिछाने र स्वेच्छा पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण विद्यालयमा क्रियाशील बाल क्लब र रेडक्रसमा आबद्ध विद्यार्थीहरूले गरेका थिए ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

